पोर्चुगल — नेपाली राजदूतावास लिस्बनले शुक्रबार एकैचोटि दुईवटा सूचना सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो सार्वजनिक गरेको दुई सूचनामध्ये एक सूचनामा उल्लेख भए अनुसार, सार्वजनिक बिदा सम्बन्धी सूचना र अर्को सेवाग्राहीलाई मध्यनजर गर्दै सार्वजनिक गरेको सूचना प्रकाशित भएको हो ।
राजदूतावास लिस्बनले बारम्बार जानकारी गराउँदा पनि धेरैजना सेवाग्राहीहरू राति वा बिहान सबेरै देखि राजदूतावास वरिपरि जम्मा हुने, होहल्ला गर्ने, फोहोर गर्ने जस्ता गैरजिम्मेवार र असामाजिक कार्य गरीदिनाले वरपरका छिमेकी घरहरूबाट तीव्र असन्तुष्टी र गुनासो आइरहेकोमा राजदूतावासले चिन्ता व्यक्त गरेको छ ।
राजदूतावासको अनुसार, पटकपटक फेरि राति वा बिहान सबेरै देखि राजदूतावास वरिपरि जम्मा हुने, होहल्ला गर्ने, फोहोर गर्ने जस्ता गैरजिम्मेवार र असामाजिक कार्य भइराखेमा जुनसुकै बेला अनिश्चित समयका लागि राजदूतावासको काम स्थगित हुनसक्ने चेतावनी समेत दिएको छ ।
उक्त कुरालाई मध्यनजर गर्दै राजदूतावासले अनलाइन अपोइनमेन्ट सिस्टम समेत लागू गर्दै आइरहेको छ । गत महिना अप्रिल १६ तारिखदेखि औपचारिक रूपमा सञ्चालन गरेको राजदूतावासले अप्रिल १८ तारिखदेखि अपोइनमेन्ट सिस्टममा काम गर्न थालेको थियो ।
अनलाइन अपरमेन्ट सिस्टम लागु गरेपछि झन् सेवाग्राहीहरूको चाप बढ्न थालेपछि राजदूतावासले उक्त कुरालाई अझै मर्यादित र सहज बनाउनको लागि विभिन्न कुराहरूमा अनलाइन अपोइन्टमेन्ट सिस्टम लागू गरेको छ ।
राजदूतावासको अनुसार, अनलाइनबाट अपोइन्टमेन्ट लिएर सोही मिति र समयमा मात्र उपस्थित हुने, काम हुने बाहेक अन्य व्यक्तिहरू राजदूतावासमा नआइदिने (निकट भविष्यमा कुरियरमार्फत पनि कागजात प्रमाणिकरण सेवा उपलव्ध गराइने तर्फ कार्यवाही हुँदै गरेको) राजदूतावासले उक्त प्रकाशित सूचनामा उल्लेख गरेको छ ।
त्यस्तै, बिहान ९ बजे अगाडि वा राति देखि राजदूतावास वा वरपर कुनै हालतमा नआउने, अन्यथा प्रहरी कारबाही समेत हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउने राजदूतावासले सेवाग्राहीहरूलाई चेतावनी समेत दिएको छ ।
राजदूतावासको अनुसार, कागजात प्रमाणीकरण गर्न आँफै उपस्थित हुनुपर्ने भएको हो, अनधिकृत व्यक्तिमार्फत गराउन खोज्दा सहीछाप शंकास्पद समेत हुन सक्ने भएकाले सतर्क रहनुपर्ने सूचनामा उल्लेख भएको छ ।
राजदूतावासबाट गरिएको सहीछापलाई निम्न लिंकमार्फत Click गरेर सजिलैसँग रूजु गर्न सकिने व्यवस्था समेत लागू भएको छ ।
त्यस्तै, कन्सुलर सेवा विभागबाट गरिएको प्रहरी चारित्रिक प्रमाणीकरणलाई लिंकबाट सजिलैसँग रुजु गर्न सकिने राजदूतावासले प्रकाशित सूचनामा उल्लेख गरेको छ ।
त्यसो त, कन्सुलर सेवा विभागबाटै गरिएका अन्य कागजात प्रमाणीकरणलाई लिंकबाट रुजु गर्न सजिलैसँग गर्न सकिने भएको छ ।
त्यस्तै अर्को सूचनामा प्रकाशित भए अनुसार, वि.सं. २०८२ वैशाख २९ सोमबार (तदनुसार १२ मे २०२५) का दिन बुद्ध जयन्तीको अवसरमा राजदूतावास बन्द रहने भएको हो । राजदूतावासले सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त कुरा जानकारी गराएको हो ।