Home Login
प्रवास

स्पेनको आप्रवासी नियम सरल बन्दै, एनआरएनए स्पेनद्वारा बृहत् अन्तर्क्रिया

विप्लव काफ्ले
स्पेन, २७ मे ।

स्पेनले आप्रवासीहरुका लागि लचिलो हुँदै काम र बसोबासमा सहजता दिन लागेको छ । संसदमा विचाराधीन मस्यौदा पारित भएमा आप्रवासीहरुलाई सहज हुने देखिएको छ ।

आप्रवासी सम्बन्धि नियमलाई सरल बनाउन सदनमा छलफल चलिरहेको छ । २ वर्ष नियमित स्पेनमा बसेकाहरुलाई वैधानिक रुपमै काम र बसोबासका लागि केही नियम जारी भएका छन् भने केही छलफलमै छन् ।

एनआरएन स्पेनले म्याड्रीडमा गरेको ´निःशुल्क कानूनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम` मा आप्रवासी सम्बन्धि नियमबारे छलफल भएको छ । स्पेनका श्रम कानुनका विज्ञहरु सहभागी अन्तर्क्रियामा नेपालीहरुले परिवर्तन हुन लागेको नियमबारे जानकारी लिएका थिए ।  स्पेनिश अधिवक्ता एलेक्जेन्ड्रा भिल्लामिजार दुसानले आप्रवासी सम्बन्धि नियममा व्यापक सुधार हुन लागेको बताइन् ।

स्पेन सरकारले आप्रवासी सम्बन्धि कानुनमा व्यापक सुधार गर्दैछ`, उनले भनिन्, ‘नियमित बसोबास गरेका, अपराधिक कार्यमा संलग्न नभएकाहरुलाई विशेष मौका दिदैछ, जसले काम र बसोबासका लागि सहज बनाउनेछ । ‘उनका अनुसार सन् २०२४ डिसेम्बर ३१ अघिदेखि स्पेनमा बस्दै आएकाहरुलाई समेत वैधानिकता दिन सदनमा मस्यौदा पुगेको छ ।

उनले रेसिडेन्सी (बसोबास ) कार्ड बनाउन पुलिस रिपोर्ट तथा अन्य कागजात अनिवार्य रहेको बताइन् । सन् २०२४ डिसेम्बर पछि स्पेन प्रवेश गरेकाहरुलाई के गर्ने भन्नेबारे अझै स्पष्ट भैनसकेको बताइन् । उनले रेसिडेन्सी कार्ड बनाउन परिवर्तन हुन लागेका नियमबारे जानकारी दिइन् । सुन्दरी लामा सो कार्यक्रममा अनुवादक बनेकी थिइन् । उनले छिटो र सजिलै कार्ड बनाउन सकिने अराइगो सोसियाल लाबोराल व्यवस्था विचाराधीन रहेको बताइन् ।

यसपालि आप्रवासी नियम निकै लचिलो बन्दैछ, तर २ वर्ष बसेकै आधारमा कार्ड पाइन्छ भन्नू भ्रम हो`, उनले भनिन्, ´कार्ड बनाउदा पुलिस रिपोर्ट अनिवार्य छ, स्पेन बसेको प्रमाण पुग्ने कागजात अनिवार्य छ । ७ हजार ४ सय युरो बैंकमा देखाएर कार्ड बनाउन सकिने हल्लाहरु चलेकोमा उनले भनिन्, ´स्रोत खुल्नुपर्छ, पारिवारिक सम्बन्ध खुल्नुपर्छ, यो व्यवस्था राजपत्रमा निस्किसकेको छैन । कुनैपनि कम्पनिले २० घण्टाको कामको कन्ट्राक्ट दिएको, ६ देखि १ वर्ष कर तिरेको भएमा मात्रै अराइगो सोसियाल लाबोराल मार्फत कार्ड बनाउन सकिने अवस्था लागू हुने क्रममा रहेको बताइन् ।

उनले सीप, भाषा सिक्न समेत सुझाइन् । उनका अनुसार सोसियो फोर्मातिभो बाट निवेदक ३ वर्ष स्पेनमा बसेको, सरकारबाट मान्यता प्राप्त संस्थाबाट तोकिएका सीपका कोर्ष गरेको प्रमाणपत्र पेश गरेर एप्लाई गरेकै दिनदेखि काम गर्न पाइने वातावरण बन्न लागेको बताइन् । ´धेरै सरल नियम आउदैछ, तर सदनबाट पास हुन्छ-हुदैन त्यो हेर्नुपर्छ`, उनले भनिन्, ´केही महिना अझै कुरौँ, खाली समयमा सीप सिकौँ, कागजात जम्मा गरौं । ` उनले स्पेन प्रवेश गर्नुपहिले गएका सेन्जेन मुलुकबाट समेत पुलिस रिपोर्ट ल्याएर बल्ल रेसिडेन्सीका लागि एप्लाई गर्न सकिने बताइन् ।

अवैध बाटो भएर आएका आप्रवासीहरुको चारित्रिक प्रमाणपत्र अनिवार्य रहेको उनको भनाई छ । उनका अनुसार रेसिडेन्सीका लागि आवेदन( एप्लाई ) गर्दा निवेदककै कागजातमा कमजोरी देखिएमा ६ महिना कुर्नुपर्नेमा सचेत गराइन् । तर, कम्पनीको कागजातमा केही त्रुटि भए लगत्तै सच्चाएर एप्लाई गर्न सकिने बताइन् । उनले शरणार्थीका रुपमा एप्लाई गर्दा धेरै जोखिम आउन सक्ने बताइन् 

सन् २०२४ मार्च १९ अगाडि शरणार्थीका रुपमा एप्लाई गरेर रिजेक्ट भएमा २ वर्ष कुर्नुपर्ने अवस्था आउने जानकारी दिइन् । स्पेनिश अधिवक्ता मारि एलेना सान्जले अवैध रुपमा काम गर्दै आएकाहरुलाई डिपोर्ट समेत हुन सक्ने बताइन् । उनका अनुसार काम गर्दाको अवस्थामा भेटिएमा ६ सय २ युरो जरिवाना वा डिपोर्ट हुन सक्ने बताइन् । १५ देखि ४८ घण्टाभित्र आवश्यक कागजात जुटाउन नसके, यथेष्ट कारण दिन नसके डिपोर्ट हुन सक्ने व्यवस्था छ ।

एनआरएनए स्पेनका बरिष्ठ उपाध्यक्ष रोशन पाठक, उपमहासचिव केशवराज कँडेल, एनआरएनए म्याड्रीडका उपाध्यक्ष हर्क थापा, सचिव दिल कुमार तामाङ, सहकोषाध्यक्ष विनोद कार्की लगायतको सहभागीता रहेको थियो ।सो कार्यक्रमको प्रत्यक्ष प्रसारण लाइभबाट युरोपाटिका सम्वाददाता अशिम लोप्चनले गरेका थिए।

Leave a Reply