Home Login
गैरआवासीय नेपाली संघ

एनआरएनए कोष्टाव्लाङ्काको नेतृत्व लिए विपिनले, १३ सदस्यीय कार्यसमिति सर्वसम्मत

विप्लव काफ्ले ।

स्पेन — गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति कोष्टाव्लाङ्काको अध्यक्षमा विपिन कुमार विसि सर्वसम्मत चयन भएका छन् । उनले दुई दशक बढी स्पेनमा व्यवसाय गर्दै आएका छन् ।

तेस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सुवास ओली, सचिवमा अनुष्मा पोख्रेल, कोषाध्यक्षमा रुद्रनारायण आचार्य, सहसचिवमा डा. वृहस्पति पण्डित चयन भएका छन् । यस्तै युवा संयोजकमा सुसाङ्क खत्री, महिला संयोजकमा जानुका पौडेल चयन भएका छन् । सदस्यहरुमा गोविन्द पोखरेल, पदमलाल लामिछाने, विमला पोख्रेल, चन्द्रा खत्री, अजय थापा, कृष्ण पुन रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष विसिले कोष्टाव्लाङ्कामा रहेका सबै नेपालीलाई समेट्ने बताए । ´२० वर्ष बढी संघसंस्थाको पदीय जिम्मेवारी रोजिएन`, उनले भने, ´सामाजिक कार्य सहज बनाउन नेतृत्व लिएको छु, सबैलाई समेट्ने छु ।` विसि सन् २००४ मा स्पेन छिरेका थिए । ३ वर्ष जति काम गरेपछि उनले आफ्नै व्यवसाय सुरु गरेका थिए ।

नयाँ कार्यसमितिमा अधिकांस युवाहरु छन् । एनआरएनए स्पेनका केन्द्रीय उपमहासचिव तथा निर्वाचन पर्यवेक्षक केशवराज कँडेलले सर्वसहमतिमा नेतृत्व चयन गरेर कोष्टाव्लाङ्काले एकताको सन्देश दिएको बताए । ´प्रवासमा नेपालीहरु एक्यवद्ध छन्, मिलेरै सामाजिक काममा तल्लिन हुन्छन् भन्ने सन्देश पनि हो`, उनले भने, ´सशक्त जुझारु नेतृत्व आएको छ, आगामी दिनमा सक्रिय भएको देख्ने अपेक्षा छ ।`  एनआरएनए स्पेनका केन्द्रीय सदस्य रितेश श्रेष्ठले साझा चरित्रनै सफलताको माध्यम हुने बताए ।

निर्वाचन समिति संयोजक देवराज सापकोटाले नयाँ कार्यसमिति आशलाग्दो र भरपर्दाे बनेको बताए ।

क्षेत्रगत सचिव सन्तोष अर्यालले कोष्टाव्लाङ्का सौहार्दतापूर्ण नेपाली बसोबास गर्ने थलो बनेको बताए ।

एनआरएनए कोष्टाव्लाङ्का निवर्तमान अध्यक्ष सुरेश बज्राचार्यले आफ्नो कार्यकाल सफल पार्न योगदान गर्ने सबैलाई धन्यवाद दिए । निर्वाचित कार्यसमितिलाई पर्यवेक्षक तथा एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेल, निर्वाचन समिति संयोजक देवराज सापकोटा, एनआरएनए स्पेनका केन्द्रीय सदस्य रितेश श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कोष्टाव्लाङ्कामा २ सय बढी एनआरएनएमा आवद्ध छन् ।

Leave a Reply