Home Login
गैरआवासीय नेपाली संघ

एनआरएनए यूकेमा ३ हजार ५ सय १६ जनाको सदस्यता आवेदन

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को सदस्यताका लागि जम्मा ३ हजार ५ सय १६ जनाले आवेदन दिएका छन् ।

नयाँ सदस्यता तथा नवीकरणका लागि निर्धारित बुधबार २५ जुन राती २३ः५९ बजेको समयसिमाभित्र ती आवेदनहरु प्राप्त भएको एनआरएनए यूकेले जनाएको छ ।

प्राप्त आवेदनहरुमध्ये जम्मा १ हजार ९ सय २७ सदस्यता स्वीकृत भइसकेका छन् भने बाँकी आवेदन १ हजार ५ सय ८९ भेरिफिकेसनको प्रक्रियामा छन् ।

त्यस्तै, एनआरएनए एपमा फारम भर्न शुरु गरेका तर पेश गर्न बाँकी रहेका थप ७ सय ३० आवेदन ड्राफ्टमा छन् ।

सदस्यता आवेदनको समयसीमा समाप्त हुनुअघि ड्राफ्टमा बसेका ती आवेदनहरु पूरा गर्न शुक्रबार २७ जुनको मध्यरात सम्मको अतिरिक्त समय उपलब्ध गराइएको छ ।

एनआरएनए यूकेले सदस्यता दर्ता तथा नवीकरण प्रक्रियामा सक्रिय सहभागिताका लागि सबैप्रति आभार व्यक्त गरेको छ ।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, महासचिव गोविन्द खरेल र प्रमुख निर्वाचन आयुक्त रामशरण सिम्खडाद्धारा जारी संयुक्त सूचनामा समयसीमा पछि नयाँ दर्ता भएका सदस्यता निवेदनहरू निर्वाचन प्रयोजनका लागि मान्य नहुने प्रष्ट्याइएको छ ।

निर्धारित डेडलाइनभित्र प्राप्त भइसकेका तर स्वीकृत नभइसकेका अथवा स्वीकृत प्रक्रियाका लागि आवश्यक विवरण मागिएका आवेदनहरु स्वीकृत प्रक्रियामा रहेको पनि जनाइएको छ ।

२५ जुन २०२५, २३ः५९ बजे अघि नै आफ्नो दर्ता प्रक्रिया सुरु गरिसकेका तर फारम पेस गर्न बाँकी हुनेहरुका लागि आवेदन फारम पूरा गर्न ४८ घण्टा समय थप गरिएको छ ।

यद्यपि, यो समयसीमाभित्र फारम पेस गर्दा तिर्नुपर्ने शुल्क, नागरिकता वा पासपोर्टजस्ता पहिचान र बसोबास पुष्टि हुने प्रमाण भने अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ । संघको मतदान अनलाइन मार्फत २६ जुलाई र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा हुने तय भएको छ ।

एनआरएनए यूकेमा दुई वर्षअघि सम्पन्न अघिल्लो अधिवेशनमा ४१ सय बढी सदस्य बनेका थिए ।
यसपटक अहिले ड्राफ्टमा रहेकामध्ये धेरै आवेदन पूरा भएमा सदस्यता संख्या दुई वर्ष अघिकै हाराहारीमा पुग्ने देखिएको छ ।

केही वर्ष अघिसम्म उम्मेदवारहरुले शुल्क समेत बुझाइदिएर फारम भरिदिने र बोरामा बोकेर सदस्यता आवेदन बुझाउने ट्रेण्ड रहेकोमा यसपटक स्वस्फूर्त रुपमै यो संख्याका सदस्यता आवेदन प्राप्त हुनुलाई एनआरएनए यूकेले उपलब्धि भनेको छ ।

Leave a Reply