Home Login
राष्ट्रिय

युरोपमा खतरनाक गर्मी : फ्रान्स, इटाली, स्पेन र पोर्चुगल चपेटामा परे

पोर्चुगल — युरोपमा पछिल्लो केही दिनयता जारी चरम गर्मीले जनजीवन अस्तव्यस्त बनाएको छ। फ्रान्स, इटाली, स्पेन र पोर्चुगल जस्ता देशहरूमा सर्वाधिक प्रभाव परेको छ भने बेलायत पनि दोस्रो पटकको गर्मी लहरको चपेटामा परेको छ । करोडौं मानिसहरू खतरनाक तापक्रमको थप दिनहरूको सामना गर्न तयारी अवस्थामा छन् ।

यो गर्मी लहर अझै केही दिनसम्म यथावत् रहने र जलवायु परिवर्तनको कारण यस्ता गर्मी लहरहरू भविष्यमा झनै तीव्र हुने सम्भावना रहेको मौसम विज्ञहरुले चेतावनी दिएका छन् ।

पोर्चुगल :

पोर्चुगलको समुद्री तथा वायुमण्डलीय संस्थानका अनुसार, देशको दक्षिणी भित्री शहर (बेजा) मा सोमबार तापक्रम ४४ डिग्री सेल्सियस (१११ फेरेनहाइट) पुग्ने अनुमान गरिएको थियो ।

स्पेन :

स्पेनको राष्ट्रिय मौसम विभागले सोमबार जनाए अनुसार, देशभर महत्वपूर्ण जोखिम को चेतावनी जारी गरिएको छ । केही स्थानमा तापक्रम ४३ डिग्री सेल्सियस (१०९ फेरेनहाइट) नाघ्ने संकेत देखिएको छ । शनिबार दक्षिणपश्चिमी शहर एल ग्रानाडोमा तापक्रम ४५ दशमलव ९ डिग्री सेल्सियस (११४ दशमलव ८ फेरेनहाइट) मापन गरिएको थियो, जुन यदि पुष्टि भएमा जुन महिनाको राष्ट्रिय रेकर्ड बन्नेछ ।

फ्रान्स :

फ्रान्सको राष्ट्रिय मौसम सेवाले आइतबार जलाउने जस्तो गर्मीको चेतावनी दिएको थियो । यस अनुसार देशका धेरै स्थानमा लगातार केही दिनसम्म तापक्रम ४० डिग्री सेल्सियस (१०४ फेरेनहाइट) आसपास रहनेछ । केही क्षेत्रमा यो ४० दशमलव ५ डिग्री पार गर्न सक्ने बताइएको छ। गर्मी लहर हप्ताभरि रहनेछ ।

इटाली :

इटालीको स्वास्थ्य मन्त्रालयले सोमबार १६ शहरमा सबैभन्दा उच्च तहको गर्मी सतर्कता जारी गरेको छ भने मंगलबारका लागि १७ शहरमा यस्तो चेतावनी दिइएको छ । राजधानी रोमको उपनगर टोर वर्गाटामा आइतबार तापक्रम ४० डिग्री नजिक पुग्यो, जुन सहरको औसत ३० डिग्रीभन्दा धेरै माथि हो ।

बेलायत :

ब्रिटेनमा यो वर्षको दोस्रो औपचारिक गर्मी लहर सुरु भएको छ । मौसम कार्यालयले एम्बर तहको सतर्कता जारी गरेको छ, जुन दोस्रो उच्चतम सतर्कता हो । यो सतर्कता बुधबार बिहानसम्म इंग्ल्यान्डका धेरै भागमा लागु रहनेछ । सोमबार तापक्रम ३४ डिग्री सेल्सियस (९३ फेरेनहाइट) पुग्ने अनुमान गरिएको छ ।

ब्रिटेनका अधिकांश घरहरूमा एयर–कन्डिसनिङ नभएको र तिनको बनावट गर्मी संचित गर्ने खालको भएकाले जनतालाई थप समस्या भइरहेको छ ।

Leave a Reply