Home Login
प्रवास

पोर्चुगलमा एक नेपाली युवक सम्पर्कविहीन, तनहुँ समाजद्वारा खोजीका लागि अपिल

पोर्चुगल — तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका–२, दुलेगौंडा, गाछेपानी घर भई विगत तीन वर्षदेखि पोर्चुगलको लिस्बनमा कार्यरत एक नेपाली युवक विगत पाँच महिनादेखि परिवारको सम्पर्कमा नरहेको जनाइएको छ ।

तनहुँ समाज पोर्चुगलले जारी गरेको एक सूचना अनुसार, वर्ष २७ का प्रबिन रिमाल लिस्बनमा कार्यरत रहेकोमा पछिल्लो समय आफ्नो पुरानो काम छोडेपछि सम्पर्कविहीन भएका हुन् । गहुँ गोरो वर्ण र अन्दाजी ५ फिट ६ इन्च उचाइका रिमाल विगत पाँच महिनादेखि परिवार तथा आफन्तसँग कुनै पनि माध्यमबाट सम्पर्कमा नरहेको समाजले जनाएको छ ।

लामो समयदेखि छोरा सम्पर्कमा नआएपछि चिन्तित बनेको परिवारले पोर्चुगलमा रहेको नेपाली समुदाय र सम्बन्धित संघसंस्थालाई खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ । परिवारको आग्रहअनुसार तनहुँ समाज पोर्चुगलले एक सार्वजनिक अपिल जारी गर्दै रिमाललाई कहिँ कतै देखे वा उनको बारेमा कुनै जानकारी भएमा तुरुन्त खबर गरिदिन पोर्चुगलमा रहेका समस्त नेपाली समुदायलाई विनम्र अनुरोध गरेको छ ।

समाजले रिमालको खोजीमा सहयोग पुऱ्याउनका लागि निम्न सम्पर्क नम्बर उपलब्ध गराएको छ : सम्पर्क: +351-920130916

पोर्चुगलमा कामको खोजीमा तथा अन्य सिलसिलामा रहेका नेपालीहरु विभिन्न कारणले समय-समयमा सम्पर्कविहीन हुने घटनाहरु हुने गरेका छन् । यस्तो अवस्थामा परिवारमा पर्न जाने मानसिक तनाव र चिन्तालाई कम गर्न पोर्चुगलस्थित नेपाली समुदायले एकजुट भई सहयोग गर्ने गर्दछन् । तनहुँ समाजले पनि सोही मानवीय भावनाअनुसार रिमालको अवस्था पत्ता लगाउन सबैको सहयोगको अपेक्षा गरेको छ ।

 

Leave a Reply