पोर्चुगल — पोर्चुगलमा आप्रवासन र आवासीय अनुमति सम्बन्धी मामिला हेर्ने सरकारी निकाय, एजेन्सिया पारा अ इन्टेग्रासाओ, मिग्रासोएस ए आसिलो (AIMA), ले आफ्नो सेवालाई आधुनिकीकरण गर्ने क्रममा दुई नयाँ र महत्त्वपूर्ण अनलाइन सेवाहरू सुरु गरेको छ । यी सेवाहरूले आवासीय अनुमति आवेदकहरूलाई प्रक्रियामा थप सहजता प्रदान गर्ने लक्ष्य राखेका छन् ।
पहिले SEF (Serviço de Estrangeiros e Fronteiras) ले हेर्दै आएको जिम्मेवारी सम्हालेको AIMA ले आफ्नो आधिकारिक सम्पर्क फारम (Contact Form) मार्फत यी नयाँ सुविधाहरू उपलब्ध गराएको हो ।
सार्वजनिक गरिएको जानकारी अनुसार, थप गरिएका दुई प्रमुख सेवाहरू निम्न छन्:
१. प्रक्रियामा रहेका आवेदनमा कागजातहरू अनलाइन संलग्न गर्ने सुविधा
अब आवासीय अनुमतिका लागि आवेदन दिइसकेका र जसको प्रक्रिया AIMA मा चलिरहेको छ, त्यस्ता आवेदकहरूले आवश्यक वा छुटेका कागजातहरू अनलाइन माध्यमबाटै संलग्न गर्न सक्नेछन् । यो सुविधाले गर्दा सामान्य कागजात बुझाउनकै लागि कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको छ, जसले आवेदकहरूको समय बचत हुने र प्रक्रिया छिटो अघि बढ्ने अपेक्षा गरिएको छ ।
२. लगानीकर्ताका परिवारका सदस्यहरूका लागि अनलाइन आवेदन
पोर्चुगलमा लगानीको आधारमा आवासीय अनुमति (Investment Residence Permit) प्राप्त गरेका व्यक्तिहरूका परिवारका सदस्यहरूले अब आफ्नो आवासीय अनुमतिका लागि सिधै अनलाइन आवेदन दिन सक्नेछन् । यसले लगानीकर्ता र उनीहरूका आश्रित परिवारका लागि आवासीय अनुमति प्रक्रियालाई थप सरल र सुलभ बनाएको छ ।
सेवा कसरी प्रयोग गर्ने ?
माथि उल्लिखित दुवै सेवाहरू प्रयोग गर्नका लागि आवेदकहरूले AIMA को आधिकारिक सम्पर्क फारममा गएर सम्बन्धित विषय छनोट गर्नुपर्नेछ ।
आधिकारिक लिङ्क: https://contactenos.aima.gov.pt/contact-form AIMA को यो कदम आप्रवासी समुदायका लागि एक सकारात्मक विकास हो । सेवाहरूलाई डिजिटल बनाउँदा प्रशासनिक झन्झट कम हुने र हजारौं आवेदकहरूले भोग्दै आएको ढिलासुस्ती र अनिश्चिततामा कमी आउने विश्वास लिइएको छ ।