स्पेन — हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काद्वारा शुक्रबार संयुक्त रुपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए ।
“मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक छ,” उनले भने I
अहिले देशभरि झन्डै हरेक नेपालीको घरमा बत्तीको उज्यालो पुगेको छ । तर बत्तीको उज्यालोले मात्रै पुग्दैन, देशको हरेक क्षेत्रमा उज्यालो हुनुपर्यो भनेर उज्यालो नेपाल अभियान सुरु गरेको उनले बताए ।
“म प्राधिकरणमा आउँदा हाम्रो कुल विद्युत उत्पादन ८०० मेगावाट थियो , अहिले झन्डै ४ हजार मेगावाट पुग्न लागेको छ । पाँच गुना बढी उत्पादन भै रहेको छ । अरु हजारौं मेगावाटका आयोजना हरु निर्माणाधीन छन् । अहिले रु २५ अरब वार्षिक महसुल उठाई रहेका छौं । प्राधिकरणलाई आर्थिक रुपमा सबल बनायौं । आम जनताको सहयोग नभएको भए यो सम्भव हुने थिए,” घिसिङले भने ।
“अहिले मुलुकका हरेक क्षेत्रमा अँध्यारो छन् । अँध्यारो हटाएर, आशा जगाउन, हरेक नेपालीको अनुहारमा उज्यालो छर्नु पर्छ भन्ने संकल्पका साथ अगाडी बढेको छु । म खाडी मुलुकहरु, अमेरिका, युके, बेल्जियम, द नेदरल्याण्डस, माल्टा हुँदै स्पेन आइपुगेको छु । यो भ्रमणबाट मैले धेरै बुझ्ने सिक्ने मौका पाएँ,” उनले भने ।
आफ्नो भेटघाटमा प्रवासमा रहेका सबै नेपालीले छिटो भन्दा छिटो नेपालको समृद्धि कसरि हुन् सक्छ ? हामीले के गर्न सक्छौं ? नेपालमा लगानीको वातावरण कसरी राम्रो बन्छ ? भनेर चासो र चिन्ता व्यक्त गरेको उनले बताए । “(प्रवासमा) साथीहरुले धेरै राम्रो व्यवसाय, काम गरिरहनु भएको छ। यो नेपालको लागि ठूलो सम्पत्ति हो। ५० लाख नेपालीले विदेशमा बसेर अनुभव हासिल गर्नु भएको छ, विज्ञता हासिल गर्नु भएको छ । यो सबै विज्ञता नेपालको विकास र रुपान्तरणमा जोड्नु पर्छ,” उनले भने ।
उनले छिट्टै आवश्यक कानून ल्याएर गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको पूर्ण कार्यान्वयन गर्नु पर्ने पनि बताए । उज्यालो नेपाल बनाउने अभियानमा जोडिन उनले सबैलाई आग्रह पनि गरे ।
उक्त अवसरमा घिसिङलाई कदर पत्र सहित सम्मान पनि गरिएको थियो ।
नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काका अध्यक्ष केशर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए कोष्टाव्लाङ्काका अध्यक्ष बिपिन कुमार बीसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कलाकार सरोज लामिछानेले सांगीतिक प्रस्तुति गरेका थिए । विभिन्न संघ संस्थाले कार्यक्रमको सफलताको कामना गर्दै संदेश पठाएको कार्यक्रम संयोजक अशिम लोप्चन तामाङले बताए । कार्यक्रमको अध्यक्षता गरि रहेका नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काका अध्यक्ष केशर बहादुर थापाले राष्ट्रको सेवामा लागेका कुलमान घिसिङजस्तो व्यक्तित्वको कुरा सुन्न पाउँदा निकै खुसी लागेको बताए । उनले प्रवासमा बसे पनि आफुहरु मातृभूमिको सुख दुखमा सधैं हातेमालो गर्दै आएको बताए । सन् २०१५ मा महाभूकम्पमा रकम संकलन गरेर नेपाल पठाएको स्मरण गर्दै अध्यक्ष थापाले उज्यालो नेपाल अभियानको सफलताको कामना गरे ।