पोर्चुगल — नेपालकी चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार आफ्नो सफल र अविस्मरणीय युरोप सांगीतिक यात्रा सकेर स्वदेश फर्किएकी छिन् । तीज पर्वलाई लक्षित गरी आयोजना गरिएको यो बृहत् सांगीतिक टुरले युरोपमा बसोबास गर्ने हजारौं नेपालीलाई आफ्नो संस्कृतिसँग जोड्दै भरपुर मनोरञ्जन प्रदान गरेको छ । मामा ईभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको संयुक्त आयोजनामा भएको यो कार्यक्रमले युरोपका १० देशमा नेपाली लोक संगीतको सुवास छरेको हो ।
गायिका परियारले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत युरोपमा रहेका नेपाली दर्शक, आयोजक र सहयोगीहरूलाई धन्यवाद दिँदै आफ्नो पहिलो युरोप टुर भव्यताका साथ सफल भएकोमा खुसी व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्, “युरोपमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले दिनुभएको माया र सम्मानप्रति म आभारी छु । यो सांगीतिक यात्रा सधैं अविस्मरणीय रहनेछ ।”
आयोजकका अनुसार, गायिका परियारको युरोप बसाइ निकै व्यस्त रहेको थियो । अगस्ट ९ मा माल्टाको भ्यालेटाबाट सुरु भएको उनको सांगीतिक यात्रा अगस्ट ३० मा ग्रीसको एथेन्समा सम्पन्न भएको थियो । यस क्रममा उनले १० देशका १२ विभिन्न सहरहरूमा आफ्नो प्रस्तुति दिएकी थिइन् ।
हरेक कार्यक्रममा हजारौंको संख्यामा उपस्थित दर्शकहरूले गायिका परियारका ‘बोल माया’, ‘गलबन्दी’, ‘पछ्यौरी’, ‘काउली’ जस्ता चर्चित गीतहरूमा झुमेर साथ दिएका थिए । प्रवासमा आफ्नो देशको मौलिक भाका सुन्न पाउँदा उनीहरू निकै हर्षित र भावुक देखिन्थे ।
‘नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ स्थापना भएको गुरुङ केएनएस इन्टरटेन्मेन्ट्स र मामा ईभेन्ट्सले लामो समयदेखि युरोपमा यस्ता सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस पटकको कार्यक्रम पनि सोचेभन्दा राम्रो र भव्य भएको गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सका सञ्चालक किरण गुरुङले बताए ।
उनले भने, “विदेशमा रहेका नेपालीहरूलाई आफ्नो संस्कृतिसँग जोड्न र नेपाली कलाकारहरूलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्न हामी सधैं कटिबद्ध छौं । शान्ति श्री परियारको यो सफल कार्यक्रमले हामीलाई थप हौसला मिलेको छ ।”
यो सांगीतिक टुर मनोरञ्जनमा मात्र सीमित नरही युरोपमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली लोक संगीत र संस्कृतिबारे जानकारी गराउने एक महत्त्वपूर्ण माध्यम बनेको विश्लेषकहरूको भनाइ छ ।
रोल्पाको एक सामान्य परिवारमा जन्मिएकी शान्ति श्री परियारले आफ्नो मिहिनेत र लगनशीलताले नेपाली लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएकी छिन् । २००९ मा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेपछि औपचारिक गायनमा प्रवेश गरेकी उनले २०११ मा ‘घर छ तीन तले’ नामक पहिलो एल्बम बजारमा ल्याएकी थिइन् ।
प्रकाश सपुतसँगको सहकार्यमा रहेको ‘बोल माया’ र ‘गलबन्दी’ जस्ता गीतहरूले उनलाई चर्चाको शिखरमा पुर्यायो । हालसम्म ३ हजारभन्दा बढी गीतमा स्वर दिइसकेकी परियार स्वदेश तथा विदेशका स्टेज कार्यक्रमहरूमा सबैभन्दा बढी रुचाइएकी कलाकारमध्ये एक हुन् । उनको यो सफल युरोप भ्रमणले उनको लोकप्रियतालाई थप उचाइमा पुर्याएको छ ।