Home Login
भिडियो

मौलिक भाका बोकेर बजारमा आए अमित बाबु रोकाय, ‘आफ्नै मन धुरुरु’ सार्वजनिक

काठमाडौं  नेपाली लोकसंगीतको क्षेत्रमा लामो समयदेखि क्रियाशील गायक तथा सर्जक अमित बाबु रोकायले आफ्नो नयाँ सांगीतिक कोसेली ‘आफ्नै मन धुरुरु’ सार्वजनिक गरेका छन् । नेपाली मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले सिर्जना गरिएको यो गीतमा लोपोन्मुख स्थानीय भाकालाई जीवन्त बनाउने प्रयास गरिएको छ ।

गायक रोकायको आफ्नै आधिकारिक युट्युब च्यानल ‘अमित बाबु रोकाया’ मार्फत सार्वजनिक गरिएको गीतमा विशेषगरी मध्य तथा सुदूरपश्चिम नेपालको रुकुम क्षेत्रमा प्रचलित मौलिक ‘सिंगारु’ र ‘पैंसेरु’ भाकाको स्वाद समेटिएको छ । यस्ता गीतहरूले व्यावसायिक बजारमा ठूलो चर्चा नकमाए पनि आफ्नो क्षेत्र, संस्कृति र समुदायमा भने गहिरो महत्व राख्दछन् र श्रोताहरूमाझ अत्यन्तै लोकप्रिय हुने गर्दछन् ।

‘आफ्नै मन धुरुरु’ गीतमा गायक अमित बाबु रोकायको सुमधुर स्वर रहेको छ । गीतका शब्दहरू रोकाय र प्रेमप्रकाश बुढाथोकीले संयुक्त रूपमा रचना गरेका हुन् ।  स्थानीयपन र मौलिकतालाई गीतको प्रमुख विशेषता मानिएको छ ।

विशेष रूपमा, यो गीतको अडियो रेकर्डिङदेखि भिडियो छायांकनसम्मका सम्पूर्ण कार्य अमेरिकामा सम्पन्न गरिएको हो । प्रवासमा रहेर पनि आफ्नो माटो र संस्कृतिप्रतिको लगावले यो सिर्जना सम्भव भएको निर्माण टिमले जनाएको छ । भिडियोमा अमेरिकामा बसोबास गर्ने रुकुमेली समुदायको बाक्लो उपस्थिति देख्न सकिन्छ, जसले गीतलाई थप जीवन्त र सांस्कृतिक रूपमा धनी बनाएको छ ।

गीतका निर्माता अमित बाबु रोकाय र प्रेमप्रकाश बुढाथोकी हुन् । त्यसैगरी, गीत निर्माणमा रमेश रेउले, विनोद ओली र मानसिंह बुढाथोकीले प्रायोजन गरेर साथ दिएका छन् ।

गायक रोकायले लामो समयदेखि नेपाली लोकसंगीतमा निरन्तर योगदान दिँदै आएका छन् । उनका दर्जनौं गीतहरू लोकप्रिय छन् । विशेषगरी जीवन बोल्ने र प्रेमिल सिर्जनामा खप्पिस मानिने रोकायले यसपटक आफ्नो जन्मभूमिको मौलिक भाकालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने प्रशंसनीय प्रयास गरेका छन् । ‘आफ्नै मन धुरुरु’ ले विदेशमा बसेर पनि आफ्नो संस्कृति संरक्षणमा जुट्न सकिन्छ भन्ने सुन्दर सन्देश दिएको छ ।

Leave a Reply