पोर्चुगल — पोर्चुगलको आप्रवासन तथा शरणका लागि एजेन्सी (एआईएमए) ले ‘उच्च दक्ष गतिविधि’ अन्तर्गतको भिसा लिएर पोर्चुगल आएका आप्रवासीहरूका लागि आवास अनुमतिको प्रक्रियालाई सहज बनाउन नयाँ कदम चालेको छ ।
एआईएमएले हालै एउटा विशेष अनलाइन सम्पर्क फारम सञ्चालनमा ल्याएको छ, जसको माध्यमबाट उच्च दक्ष भिसा धारकहरूले आफ्नो आवास अनुमतिको लागि अपोइन्टमेन्ट वा तालिका मिलाउन आवेदन दिन सक्नेछन् । यो नयाँ व्यवस्थाले विशेष गरी ती व्यक्तिहरूलाई राहत दिनेछ जो उच्च सीपयुक्त कामका लागि पोर्चुगल आएका छन् तर एआईएमएमा अपोइन्टमेन्ट नपाएर समस्यामा परेका थिए ।
आवेदकहरूले एआईएमएको आधिकारिक वेबसाइटमा राखिएको नयाँ लिङ्कमार्फत आफ्नो विवरण पठाउन सक्नेछन् । फारम भर्ने लिङ्क : https://contactenos.aima.gov.pt/contact-form
एआईएमएका अनुसार, आवेदन स्वीकृत हुनको लागि आवेदकले फारममा निम्न व्यक्तिगत विवरणहरू अनिवार्य रूपमा भर्नुपर्नेछ :
१. पूरा नाम (राहदानीमा भए अनुसार)
२. जन्म मिति
३. राष्ट्रियता
४. राहदानी नम्बर
संलग्न गर्नुपर्ने कागजातहरू
फारम भर्दा आफ्नो आवेदनलाई औपचारिक र पूर्ण बनाउनका लागि निम्न कागजातहरूको स्पष्ट स्क्यान गरिएको प्रतिलिपि अपलोड गर्नुपर्नेछ :
१.राहदानीको प्रतिलिपि (Scanned copy of Passport): स्पष्ट बुझिने फोटो पेज । २.भिसाको प्रतिलिपि (Scanned copy of Visa): राहदानीमा लागेको मान्य भिसाको पेज ।
यो सुविधा हालका लागि विशेष गरी उच्च दक्ष कामदारहरू को भिसा भएकाहरूका लागि मात्र लक्षित गरिएको बुझिएको छ । तसर्थ, फारम भर्दा आफ्नो विवरणहरू सही र त्रुटिरहित तरिकाले भर्नुहुन अनुरोध गरिन्छ । कागजातहरू स्क्यान गर्दा ती प्रष्ट र बुझिने हुनु आवश्यक छ । यो नयाँ प्रणालीले लामो समयदेखि पर्खाइमा रहेका उच्च दक्ष कामदारहरूको रेसिडेन्सी प्रक्रियालाई छिटो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।





