स्पेन — स्पेनको सिभिल गार्ड र राष्ट्रिय प्रहरीले संयुक्त रूपमा ‘अपरेसन फ्रान्सिस्कन-एभरेस्ट’ सञ्चालन गरी कृषि क्षेत्रमा कामदार शोषण गर्ने एक अन्तर्राष्ट्रिय आपराधिक गिरोहको सञ्जाल ध्वस्त पारेको छ ।
प्रहरीले गिरोहका ११ जनालाई पक्राउ गरेको छ भने २ जना अनुसन्धानको दायरामा छन् । पक्राउ परेकामध्ये ६ जनालाई धरौटी बिना हिरासतमा राखिएको छ । ३ सय २२ जना विदेशी नागरिकको उद्धार गरिएको छ । जसमा २९४ जनासँग स्पेन बस्ने अनुमति (रेसिडेन्सी कार्ड) थिएन । उद्धार गरिएकाहरूमा अधिकांश नेपाली नागरिक रहेका छन् ।
पर्यटक भिसामा आएकाहरूलाई कामको प्रलोभन देखाइएको थियो । अल्बासेतेको ‘भिल्लालगोर्डो डेल जुकार’ मा भेन्टिलेसन नभएको, शौचालयको अभाव भएको र चिसो भुइँमा कोचेर सुताउने गरिएको थियो ।दैनिक १२ घण्टासम्म विभिन्न प्रान्तका कृषि फार्महरूमा खटाउने गरिएको थियो । खाना, बस्न र यात्रा खर्चको नाममा एजेन्टले तलबबाट मोटो रकम काट्ने हुँदा कामदारहरू रित्तो हात हुन्थे ।
सन् २०२४ को जुलाईबाट सुरु भएको यो मिसनले गिरोहका नक्कली कम्पनी र सम्पत्तिको अनुसन्धान गरेको थियो । प्रहरीले छापा मार्दा २ लक्जरी गाडीसहित १२ सवारी साधन, नगद, नक्कली कागजात, र कम्प्युटरहरू जफत गरेको छ । गिरोहका बैंक खाताहरू रोक्का (फ्रिज) गरिएको छ ।
उद्धार कार्यमा स्पेनस्थित नेपाली दूतावास र नेपाली संघसंस्थाहरूले समन्वय गरेका छन् । स्पेनी रेडक्रसले पीडितहरूलाई खाना, आवास र कानुनी सहायता उपलब्ध गराइरहेको छ । पीडितहरूको कानुनी कागज बनाउने प्रक्रिया पनि सुरु गरिएको छ । साभार -NepaEuro





