लिस्बन (पोर्चुगल) — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक बिदाको घोषणा गर्दै सम्पूर्ण नेपाली समुदायमा शुभकामना व्यक्त गरेको छ । दूतावासले मंगलबार एक सूचना जारी गर्दै बिदा र शुभकामना सन्देश प्रवाह गरेको हो ।
जारी गरिएको सूचनामा सन् २०२५ को क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को पावन अवसरमा पोर्चुगलमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सम्बोधन गरिएको छ । दूतावासले यस सुखद् घडीमा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । परदेशमा रहेर पनि आफ्नो कर्मक्षेत्रमा खटिरहेका नेपालीहरूको उन्नतिका लागि दूतावासले शुभेच्छा प्रकट गरेको छ ।
शुभकामना सन्देशसँगै राजदूतावासले सेवाग्राहीहरूको जानकारीका लागि सार्वजनिक बिदा सम्बन्धी सूचना पनि प्रवाह गरेको छ । सूचना अनुसार आगामी बिहीबार अर्थात् विसं २०८२ साल पुष १० गते (तदनुसार २५ डिसेम्बर २०२५) क्रिसमसको दिन दूतावास बन्द रहनेछ । यसैगरी, अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् विसं २०८२ साल पुष १७ गते बिहीबार (तदनुसार १ जनवरी २०२६) का दिन पनि दूतावासका सम्पूर्ण प्रशासनिक कामकाज बन्द रहने व्यहोरा जानकारी गराइएको छ ।
दूतावासले यी दुई दिन सार्वजनिक बिदा हुने भएकाले सेवाग्राहीहरूलाई सोही अनुसार आफ्नो कार्ययोजना बनाउन अनुरोध गरेको छ । लिस्बनस्थित नेपाली राजदूतावासले २३ डिसेम्बर २०२५ मा यो सूचना प्रकाशित गरी जानकारी गराएको हो ।





