Home Login
राष्ट्रिय

शान्तिकुमारी शाहीको गायन यात्रा : देउडा हुँदै भजन सम्म

काठमाडौँ — विद्यालय पढ्दादेखि नै साधारण देउडाको स्वरमा सुर मिलाउँदै गायन सुरु गरेकी गायिका शान्तिकुमारी शाहीको आज लोकसंगीत क्षेत्रमा स्थापित नाम बनेको छ । कर्णाली प्रदेशको कालीकोटमा जन्मिएर हाल सुदूरपश्चिमको बैतडीलाई कर्मभूमि बनाएकी उनी मौलिकता र संस्कृतिको जगेर्नासँगै समाजसेवामा समेत आबद्ध छिन् ।

२०७४ सालमा औपचारिक रूपमा गायन क्षेत्रमा प्रवेश गरेकी शाहीले सुरुआतमा केही चल्तीका गीत नक्कल गर्दै अभ्यास गरिन् । त्यसपछि उनले आफ्नै मौलिकता बोकेको स्वर दिन र सुदूरपश्चिमको गहिरो संस्कृति समेटिएका भाका गाउन थालिन् ।

यसले छिट्टै श्रोता–दर्शकको ध्यान खिच्न थाल्यो । शान्तिकुमारीले ‘लाली पाउडर घसेर’, ‘गयो जोवन माइतै बसेर’, ‘कर्णालीका छालैछाल’, ‘भोटे बाइगो मुगु’, ‘कोही हुम्लाकी कोही जुम्लाकी’, ‘कोहीमाथि मुगुकी’जस्ता गीतमा आफ्नो आवाज दिएकी छन् । उनको स्वरले सुदूरपश्चिम र कर्णालीका भाकालाई नयाँ उचाइ दिएको छ । ती गीतहरूले खाली मनोरञ्जन मात्र नभई जनजीवन, संघर्ष र भूगोलका कथा पनि बोकेका छन् ।

शान्तिकुमारीले पछिल्लो समय ‘हरिभजन’ नामक भजनमार्फत भक्तिभावको क्षेत्रतर्फ पनि उपस्थिति जनाएकी छन् । लोक भावनालाई भजनको माधुर्यसँग मिसाएर प्रस्तुत गरिएको यो गीतलाई स्रोताले रुचाएको पाइएको छ । गायिका शान्तिकुमारी आफू सुदूरपश्चिमका स्थानीय भाकालाई संगीतमार्फत बचाउने र अघि बढाउने अभियानमा समर्पित रहेको बताउँछिन् । ‘हामीकहाँ मौलिक भाका हराउँदै गएका छन् । मैले संगीतमार्फत त्यो जगेर्ना गर्ने प्रयास गरिरहेकी छु,’ उनी भन्छिन्, ‘म हरेक प्रस्तुति र शब्दमा आफ्नो भूगोल र संस्कृति झल्काउने उद्देश्य राख्छु ।’

गायिका शान्तिकुमारी पछिल्ला वर्षहरूमा समाजसेवामा पनि सक्रिय छिन् । उनले हालै काठमाडौँमा आयोजना गरिएको श्री पशुपति मनोकामना पूर्ति तथा संकट मोचन विराट ज्ञानमहायज्ञमा मानव सेवा फाउन्डेसनको आजीवन सदस्यता लिँदै आफ्नो प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा उनले आफ्ना देउडा गीतमार्फत् भक्तजनलाई छमछमी नचाएकी मात्र होइन, संस्थालाई सहयोग पनि गरेकी थिइन् ।

शान्तिकुमारीले आफ्नो सांगीतिक योगदानका लागि कैयौँ राष्ट्रिय सम्मान तथा उत्कृष्ट गायिका अवार्ड प्राप्त गरेकी छन् । उनले लोकसंगीत संरक्षणमा योगदान, मौलिक भाका प्रवद्र्धन, सांगीतिक समाजसेवाजस्ता विधामा अवार्ड पाएकी छन् ।

शान्तिकुमारीको अबको सपना अब देउडासँगै हिमालका कथा संगीतमार्फत सुनाउने रहेको छ । जन्मथलो कालीकोट र कर्मथलो बैतडी भएकाले उनले दुवै ठाउँका स्थानीय भाषालाई समेटेर नयाँ गीतहरू ल्याउने तयारी गरिरहेकी छन् ।

Leave a Reply