धादिङ — ऐतिहासिक गंगाजमुना मेला २०८१ आगामी कात्तिक २६ गते हुने भएको छ ।
‘कृषि,पर्यटन,पूर्वाधार,समृद्ध गंगाजमुना मूला आधार’ भन्ने मुल नाराको साथ धादिङ जिल्लाकै ठूलो गंगाजमुना माईमेला २०८१ आगामी २६ गते हुन लागेको हो ।
धादिङका उत्तरी क्षेत्र फूलखर्कमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ ।मेलामा पालिकाले हरेक वर्ष साङ्गितिक कार्यक्रम आयोजना गर्दै आएको छ । गंगाजमुना गाउँपालिकाको आयोजनामा हुने मेलामा स्थानीय झाँकी सहित यस वर्ष पनि मनमाया वाइवा,सागर विसी,सरोज सिंखडा रितु तामाङ,विन्दा परियार,सन्दिप तामाङ लगायत दर्जनौं कलाकारले मेलामा साँस्कृतिक प्रस्तुति दिनेछन् ।
गंगाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको छ । तेह्र सय वर्ष अगाडि गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौँ, हाम्रो यही पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ । गंगाजमुना गाउँपालिका ५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छन् । भक्तजनले गंगाजमुना कुण्डमा नुहाउँदा रोगव्याधी निको हुने विश्वास र झरनामा नुहाएर मनले चिताएको पूरा होस् भनेर आर्शिवाद माग्ने चलन छ ।
झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ ।एकादशीको दिन बिहान गंगाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान् गंगाजमुनाको दर्शन गरी फर्किने प्रचलन छ ।
मेलाको दिन गंगाजमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको घुइँचो लाग्छ । विशेष गरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि कुकुरधारोमा नुहाउने चलन रहेको छ । मेलाका लागि धादिङसहित मकवानपुर, रसुवा, नुवाकोट, चितवन, गोरखा, तनहुँ, कास्की, काठमाडौँ लगायत ठाउँबाट भक्तजन जाने गर्छन् ।