आज जनवरी १८, २०२५ शनिबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ –
तामाङ समाज पोर्चुगलद्वारा सोनाम ल्होछार मनाउने —
तामाङ समाज पोर्चुगलद्वारा आयोजित मंञ्जुश्री संवत २८६१ डुलसा पुख्री ल्होलाई मध्यनजर गर्दै सोनाम ल्होछारको शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम आउँदो फेब्रुअरी २ तारिख आइतबारको दिन राजधानी लिस्बनमा हुने भएको हो।
उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने भएको छ। कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित टाइम आउट मार्केट क्यास दो सोड्रेमा हुने भएको हो। बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा पोर्चुगलमा रहनुभएका तामाङ तथा गैर तामाङहरूलाई आयोजकले निमन्त्रण समेत गरेको छ।
क्यानडामा बिक्री भयो चलचित्र उनको स्वीटर —
चलचित्र उनको स्विटर क्यानडामा बिक्री भएको छ। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा क्यानडामा प्रदर्शन हुने गरी चलचित्र उनको स्वीटर क्यानडामा बिक्री भएको हो।
नेपालमा नयाँ वर्ष २०८२ को वैशाख २६ गते प्रदर्शन हुने चलचित्र उनको स्वीटर नेपाल र क्यानडामा एकै साथ प्रदर्शन हुनेगरी बिक्री भएको हो। एमजिपी इन्टरटेनमेन्ट, आँगन इभेन्ट, र आई र यू इन्टरटेनमेन्टले क्यानडामा चलचित्र प्रदर्शन गर्न लागेको हो।
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह —
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को आकाशमा नेपाली एयरलाइन्सको हवाई उडानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् ।
नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधिमण्डलसँग शुक्रबार मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले ईयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चाँडै फुकुवा गरेर सहयोग गरिदिन अनुरोध गरेका हो । पर्यटनमन्त्री पाण्डेले नेपाल र ईयूबीच पहिलेदेखि कूटनीतिक सम्बन्ध रहेको स्मरण गराउँदै नेपाल र ईयूबीच साझेदारी रहेको उल्लेख गरे ।
माल्टामा सोनाम ल्होछार मनाउने —
तामाङ समाज माल्टाले फेब्रुअरी २ तारिखमा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।माल्टामा रहेका तामाङ समुदाय लगायत अन्य समुदायहरुमा यस पर्बलाई हर्सोउल्लासका साथ मनाउन सबैमा संस्थाका अध्यक्ष सुनिल तामाङले अपिल समेत गरेका छन्।
उक्त कार्यक्रम फेब्रुअरी २ तारिख आइतबार साँझ ४ बजे ओर्फियम थिएटर जिरामा हुने भएको हो ।
चलचित्र ‘एक्टरः टेक वान’ युरोपमा पनि प्रदर्शन —
राजन भुसालको निर्देशनमा तयार भएको चलचित्र ‘एक्टरः टेक वान’ युरोपमा पनि प्रदर्शन हुने भएको छ।उक्त चलचित्र युरोपमा ‘क्या दामी’ इभेन्टले प्रदर्शनमा ल्याउन लागेको हो ।
क्या दामी इभेन्टले प्रदर्शनमा ल्याउन लागेको चलचित्रलाई सपोर्ट भने एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले गरेको छ।
चलचित्रमा दिव्य देव, उषा रजक, सुशील सिटौला, सिर्जना अधिकारी, बादल भट्ट, प्रदीप के. चौधरी, सिर्जना अधिकारी लगायतको पनि अभिनय छ ।
आकाश बराल र निर्देशक भुसालको लेखन रहेको फिल्ममा थमन कुमार भण्डारी निर्माता र अनीश भुसाल सह-निर्मातामा छन् । यसमा नरेन्द्र मैनालीको छायांकन छ भने सम्पादन निमेष श्रेष्ठ तथा द्वन्द्व निर्देशन अष्ट महर्जनको छ ।