लाक्पा तेन्जी शेर्पा ।
रोमानिया — मन्जु श्री सम्बत २८६१ (डुल ल्हो) – नेपाल तामाङ घेदुङ रोमानियाद्वारा सोनाम ल्होछार २८६१ (डुल ल्हो) को पावन अवसरमा विशेष कार्यक्रमको भव्य आयोजना गरिएको थियो । बौद्ध परम्पराअनुसार धार्मिक पूजापाठ गर्दै सुरु गरिएको उक्त कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता, संस्कृति तथा परम्पराको प्रवर्धन गर्ने महत्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रमको भव्य उद्घाटन र धार्मिक अनुष्ठान —
कार्यक्रमको शुभारम्भ बौद्ध धर्म परम्पराअनुसार लामा धार्मिक गुरुहरूद्वारा विशेष पूजापाठबाट गरिएको थियो। नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष फुर्साङ लामा को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा श्रेदेय धर्म गुरु खेन्पो लामा मिग्मर ड्रग्पो रेपा ज्यु रहनुभएको थियो।
धार्मिक अनुष्ठानको माध्यमबाट समुदायको उन्नति, समृद्धि तथा विश्व शान्तिको कामना गरियो। उपस्थित अतिथिहरूले पनि ल्होछार पर्वको धार्मिक र सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए।
विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति —
सो कार्यक्रममा रोमानियाका विभिन्न सरकारी तथा प्रतिष्ठित संस्थाका प्रतिनिधिहरू उपस्थित भएका थिए, जसले कार्यक्रमलाई अझ गौरवमय बनाएको थियो। विशिष्ट अतिथिहरूमा निम्न व्यक्तित्वहरू रहेका थिए—
Mr. Minister Ciprian Vasile Olinici – रोमानियाको धार्मिक मामिला मन्त्रालयका मन्त्री, Mr. Mihai Miron – कार्यकारी निर्देशक, धार्मिक मामिला मन्त्रालय, Mr. Cristian Jura – राज्य सचिव, राष्ट्रिय भेदभाव विरुद्धको परिषद्, Ms. Alina Cimpoieru – प्रधानमन्त्रीको क्याबिनेटकी राज्य सल्लाहकार ,Mr. Florin Manole – सांसद, रोमानियन संसद (चेम्बर अफ डेपुटिज) ,Mr. Adrian Badescu – कार्यकारी सल्लाहकार, बुचारेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथिहरूले नेपाली समुदायले रोमानियामा प्रदर्शन गरिरहेको संस्कृतिको संरक्षण र प्रवर्द्धनप्रति प्रशंसा व्यक्त गर्दै नेपाल-रोमानियाबीचको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
रोमानियामा रहेका नेपाली समुदायको उल्लेखनीय उपस्थिति —
कार्यक्रममा रोमानियामा बसोबास गरिरहेका नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, सञ्चारकर्मी, रोमानियन नागरिक तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तामाङ समुदायका अगुवाहरूका साथै शेर्पा, मगर, गुरुङ, किरात, ह्योल्मो लगायत अन्य नेपाली जातीय समुदायका हरू पनि कार्यक्रममा सहभागी भएका थिए।
सांस्कृतिक कार्यक्रम, नेपाली विविधताको अनुपम झल्को —
कार्यक्रममा विभिन्न नेपाली जातीय समुदायका सांस्कृतिक समूहहरूले आफ्ना मौलिक नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले कार्यक्रममा थप उत्साह र उमंग भरेको थियो। प्रस्तुत गरिएका प्रमुख नृत्यहरू निम्नानुसार थिए—
तमु समाज रोमानिया – ग्याब्री नृत्य, शेर्पा किदुग – स्याब्रु नृत्य ,किरात समाज रोमानिया – साकेला नृत्य, मगर समाज रोमानिया – परम्परागत मगर नृत्य ,ह्योल्मो समुदाय – स्याब्रु नृत्य
यी सांस्कृतिक प्रस्तुतीहरूले नेपाली मौलिक संस्कृति र पहिचानलाई उजागर गरेका थिए। उपस्थित दर्शकहरूले हर्षोल्लासका साथ नृत्य एवं सांस्कृतिक झाँकीहरू अवलोकन गरे।
ल्होछार विशेष शुभकामना मन्तव्य —
कार्यक्रमका प्रमुख अतिथि एवं विशिष्ट र बिशेष पाहुनाहरूले सोनाम ल्होछार पर्वको अवसरमा सम्पूर्ण नेपाली समुदायलाई शुभकामना व्यक्त गरे। वक्ताहरूले ल्होछारलाई तामाङ समुदायको मात्र नभई सम्पूर्ण नेपालीहरूको साझा चाडको रूपमा चित्रण गर्दै यस पर्वले सबैमा नयाँ ऊर्जा, सकारात्मकता, शान्ति, तथा समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गरे।
समाप्ति र महत्त्वपूर्ण निष्कर्ष —
नेपाल तामाङ घेदुङ रोमानियाद्वारा आयोजित यो विशेष कार्यक्रमले नेपाली संस्कृति, परम्परा, रीतिथिति तथा विविधताको भव्य प्रदर्शन गरेको थियो। नेपाल र रोमानियाबीचको सांस्कृतिक आदान-प्रदानलाई अझ मजबुत बनाउने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपाली समुदायको एकता झल्किएको थियो।
सोनाम ल्होछार जस्ता चाडपर्वहरूले नेपालका विविध जातजातिका संस्कृतिहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसर सिर्जना गरेको छ । यो भव्य कार्यक्रमले नेपाली समुदायको पहिचान र एकतालाई अझ मजबुत बनाउने विश्वास गर्न सकिन्छ।
Leave a Reply