पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा पोर्चुगलमा रहेका नेपालीहरुले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछार –२८६१ भव्यताका साथ मनाएको छ ।
आइतबार सम्पन्न कार्यक्रममा ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा म्हेन्दोमाया र सेलो गीत विशेष प्रस्तुति, नृत्य तथा अन्य सांगीतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो। मनोरञ्जन दिनका लागि म्हेन्दोमाया गायिका रमाला पाख्रिन, सेलो गायक प्रदीप लामा, सेलो गायक तथा संगीतकार कुमार योन्जन सहित स्थानिय कलाकारहरुको सहभागी रहेको कार्यक्रममा दर्शकहरू पनि मनोरञ्जन लिइरहेका थिए।
राजधानी लिस्बनमा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथिमा युवा उद्यमी तथा समाजसेवी विजय मोक्तान रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोक्तानले संसारको जुनसुकै कुनामा पुगेपनि तामाङ समुदायले आफ्ना धर्म, संस्कृति, परम्परा, चाडबाडलाई भुल्न नहुने बताए । सोनाम ल्होछारको सबैलाई शुभकामना दिँदै उनले धर्म, संस्कृति, परम्परा, मौलिक चाडबाडहरु हराएमा अस्तित्व र पहिचान समेत हराउने भएकोले सबैजना गम्भिर र जिम्मेवार हुनुपर्नेमा जोड समेत दिएका थिए।
कार्यक्रममा पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष इमानसि तामाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमकको सञ्चालन घेदुङको केन्द्रिय सदस्य सुजन लामा मोक्तानले गरेका थिए भने उपाध्यक्ष तथा प्रचारप्रसार विभाग संयोजक फुर्पा तामाङले स्वागत मन्तव्य राखेका थिए ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका उपाध्यक्ष तथा प्रचारप्रसार विभाग संयोजक तामाङका अनुसार, कार्यक्रममा तामाङ तथा गैर तामाङहरूको बाक्लो उपस्थिति रहेको थियो।