Home Login
युरोप

समाजवादी ब्यवस्था ल्याउने बाटोमा अघि बढ्नु पर्छ: माओवादी नेता कार्की

२५ फेब्रुअरी २०२५, लिजवन ।

नेकपा (माओवादी केन्द्र)का सचिव तथा लेखक विश्लेषक राम कार्की ‘पार्थ’ले नेपाली परिवेशमा कम्युनिष्ट विचारलाई परिष्कृत गर्दै समाजवादी ब्यवस्था ल्याउने बाटोमा अघि बढ्नु पर्ने आवश्यकता औंल्याएका छन् ।

नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिले आइतवार ३० औं जनयुद्ध दिवसको सन्दर्भमा गरेको ‘जनयुद्धको महत्व र अबको बाटो…’ विषयक विचार विमर्शमा उनले उक्त भनाई राखेका हुन् ।

‘माओवादीले गरेको १० वर्षे जनयुद्धले सामान्ति राजतन्त्रको अन्त्य गरी नेपालमा गणतन्त्र ल्यायो’ कार्कीले भने, ‘गणतन्त्र आएपछि हामी केही अल्झिएका थियौं, अब भने मुख्य कुरा कम्युनिष्ट विचारलाई नेपाली परिवेश अनुसार परिष्कृत गर्दै समाजवादी ब्यवस्था निर्माण गर्ने बाटोमा अघि बढ्नुको विकल्प छैन ।’

बौद्धिक नेताको परिचय बनाएका कार्कीले पछिल्लो समयमा पार्टीको विचारमा केही अलमल र नेताहरुमा विकृतिहरु बढेको भन्दै दलाल पुंजीवादलाई अन्त्य गर्न साधा जिवनशैलीलाई अपनाउनु पर्नेमा जोड दिए । ‘जनतासंगै एकाकार भएर जनयुद्ध सफल भएको थियो तर, पछिल्लो समय पार्टीको विचारमा अलमल भयो, नेताहरुको जिवनशैली बदलियो’ उनले भने, ‘अब भने हामी सच्चिने दिशामा छौं, विचार किलियर गर्दै समाजवादी दिशामै जानु अबको विकल्प हो ।’

नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका इन्चार्ज समेत रहेका कार्कीले १० वर्षे जनयुद्धले नै नेपालमा राजनीतिक र सामाजिक रुपमा ठुलो परिवर्तन ल्याएको बताउँदै संस्थागत गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार टिबी पाठकले जनयुद्ध शुरु गर्नुपुर्व र जनयुद्ध सन्चालनको क्रममा माओवादी नेताहरुलाई फौजी तालिम दिएको स्मरण गर्दै जनयुद्ध महान भएको बताए । ‘जनताको शासन ल्याउन भनेर जनयुद्ध गरेका थियौं, जनयुद्ध शुरु अघि नै नेताहरुलाई फौजि दिएको ति यादहरु ताजा बनेर आए, जनताले लडेको त्यो जनयुद्ध महान थियो ।’ पाठकले भने ।

नेकपा (माओवादी केन्द्र)का वैकल्पिक केन्द्रिय सदस्य तथा पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका सह-इन्चार्ज सुरेन्द्र भुषालले नेपाली जनताको आशा र भरोषा अझै पनि माओवादी रहेको भन्दै नेताहरु सच्चिएर जनताको घरदैलोमा जानुपर्ने आवश्यकता रहेको भनाई राखे ।

पार्टीका वैकल्पिक केन्द्रिय सदस्य तथा पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका अर्का सह-इन्चार्ज मोहनमान स्वाँरले टुट फुट भएका माओवादी पार्टीहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

विचार विमर्शमा नेकपा (माओवादी केन्द्र) सार्क प्रवास प्रदेश समितिका संयोजक राजेन्द्र शर्मा, नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका सह-संयोजक तथा महिला विभाग प्रमुख सुष्मा भुषाल, नेपाली जनप्रगतिशील मञ्च युरोपका अध्यक्ष चित्र सुवेदी, मञ्चका पूर्व अध्यक्ष डा.कृष्ण अर्याल, नेपाली जनप्रगतिशील मोर्चा युरोपका सल्लाहकार विष्णु भुजेल, नेपाली जनप्रगतिशील मोर्चा युरोपका उपाध्यक्ष पुर्णबहादुर विश्वकर्मा, सीता पोख्रेल, बुद्ध लामा लगायतले धारणा राखेका थिए ।

नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका संयोजक उदयराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सह-संयोजक नारायण कंडेलले र सन्चालन अर्का सह-संयोजक रणबहादुर खाती क्षत्रीले गरेका थिए ।

३० औं जनयुद्ध दिवसको सन्दर्भमा गरेको ‘जनयुद्धको महत्व र अबको बाटो…’ विषयक विचार विमर्शमा झण्डै ८० जनाको सहभागिता रहेको नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका सह-सचिव अच्युत फुंयालले जानकारी दिए ।

Leave a Reply