रोमानिया — हिमाली महायानी बौद्ध धर्मावलम्बीहरूको महान् राष्ट्रिय पर्व ग्याल्पो लोसार २१५२ औं को अवसरमा शेर्पा किदुग रोमानिया द्वारा आयोजित बृहत् लोसार सांस्कृतिक कार्यक्रम भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि धर्मगुरु खेन्पो लामा मिङमार Dragpo Repa रहनुभएको थियो भने, कार्यक्रमको अध्यक्षता शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामाले गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न समुदायका विशिष्ट व्यक्तित्वहरू तथा स्थानीय रोमानियन अतिथिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथिहरूमा तमु समाज रोमानियाका अध्यक्ष तिल बहादुर गुरुङ, नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष फुर्साङ लामा, किराँत समावेशी समाज रोमानियाका उपाध्यक्ष टेकसुराम राई, नेपाल मगर संघ रोमानियाका अध्यक्ष गोमा देवी थापा मगर, कग्यु बुद्धिस्ट एसोसिएसनका अध्यक्ष Iulia Oprişan, देउराली यास आर यालका निर्देशक खगेन्द्र अधिकारी रहेका थिए।
कार्यक्रमको सञ्चालन शेर्पा किदुग रोमानियाका महासचिव साङ्ग्ये शेर्पा र सदस्य पेमा शेर्पाले गर्नुभएको थियो भने, उपस्थित सम्पूर्ण अतिथिहरूलाई किदुगका महिला उपाध्यक्ष आङ छोटी शेर्पाले स्वागत गर्नुभएको थियो।
कार्यक्रमका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै ग्याल्पो लोसारको महत्व, यसले समाजमा ल्याउने सकारात्मक ऊर्जा, सांस्कृतिक पहिचानको संरक्षण तथा अन्तरसमुदायिक सद्भावलाई प्रवर्द्धन गर्ने विषयमा आफ्ना विचार राख्नुभएको थियो।
कार्यक्रममा शेर्पा समुदायको सांस्कृतिक झल्को दिने परम्परागत नृत्य तथा भजन-कीर्तन समेत प्रस्तुत गरिएको थियो। साथै, बौद्ध धर्मका शिक्षालाई जीवनशैलीमा अपनाउने, समाजमा सहिष्णुता र मेलमिलापलाई प्रवर्द्धन गर्ने विषयमा चर्चा गरिएको थियो।
यस अवसरमा सहभागीहरूले ग्याल्पो लोसारको परम्परागत खानपान, सांस्कृतिक पहिरन र शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गरेका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नमा आयोजक समितिका सम्पूर्ण सदस्यहरूको सक्रिय भूमिका रहेको थियो। शेर्पा किदुग रोमानियाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।