Home Login
प्रवास

स्पेनको आलिकान्तेको बेनिड्रोममा जुन १४ र १५ गते राहदानी शिविर हुँदै

विप्लव काफ्ले
स्पेन ।

स्पेन स्थित आलिकान्तेको बेनिड्रोम राहदानीका लागि घुम्ती शिविर हुने भएको छ । आलिकान्तेको बेनिडोर्म स्थित  होटल ब्रिस्टल, प्लासा डाक्टर फ्लेमिङ २ मा शिविर सञ्चालन हुनेछ ।

यहि जुन १४ र १५ गते सञ्चालन हुने शिविरका लागि नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का र एनआरएनए कोष्टाव्लाङ्काले समन्वय सहजीकरणको तयारी तीव्र पारेका छन् । नेपाली राजदूतावास म्याड्रिड स्पेनले राहदानी विभागसँगको समन्वयमा शिविर गर्न लागेको हो ।

राजदूतावासका द्वितीय सचिव पुरक अधिकारीले १ वर्ष बढी म्याद रहेका राहदानीहरु नविकरण नहुने बताए । शिविरबाट सेवा लिन अगावै अनलाइन फारम भरेर बारकोड सहितको प्रिन्ट गरिएको प्रति सहित राहदानी र नागरीकता अनिवार्य लिएर बायोमेट्रिक दिन उपस्थित हुनुपर्ने बताए । राहदानी हराएको भएमा नयाँ बनाउदा पुलिस रिपोर्ट अनिवार्य बुझाउनुपर्नेछ ।

घुम्ती शिविरमा आवेदन दिदा एपोइन्मेन्ट कन्ट्री नेपाल, एपोइन्टमेन्ट प्रोभिन्स बागमति, एपोइन्टमेन्ट डिस्ट्रिक्ट काठमाडौ, एपोइन्टमेन्ट लोकेसन डिपार्टमेन्ट अफ पासपोर्टस् उल्लेख गरेर फारममा विवरणहरु भर्न सुझाइएको छ ।

बारकोड सहितको पिडिएफ फाराम, राहदानी र नागरिकताको फोटोकपी एटेच गरी १२ जुन २०२५ भित्र प्रमाणित गर्न दूतावासको मेल consular@embajadadenepal.es मा पठाउनु पर्ने जनाइएको छ । डाउनलोड गरिएको फारामको प्रिन्ट प्रति तथा अन्य कागजात सहित घुम्ति टोली रहने ठाउँमा आवेदक स्वयम् उपस्थित हुनु पर्नेछ ।

एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेलले शिविरमा सहजताका लागि उचित व्यवस्थापन मिलाएर आलोपालो व्यवस्था मिलाइने बताए । उनले राजदूतावासले जारी गरेको सूचना अनुसार फारम भर्न अनुरोध गरे ।

नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काका अध्यक्ष केसरबहादुर थापाले बेनिड्रोममा दुई दिन चल्ने शिविरले नजिकैबाट सेवा लिने वातावरण बनेको बताए । समाजका महासचिव विजय कुँवरले राहदानी सेवावापतको शुल्क वायोमेट्रिक दिँदा कार्डद्वारा भुक्तानी गरिनु पर्ने भएकाले सोही अनुसारको तयारि गर्न सुझाए। समाजका सचिव तथा पत्रकार महासङ्घ युरोपका उपमहासचिब  असिम लोप्चनले २ सय ४० भन्दा बढीले आवेदन दिने गरि नामावली टिपाएको जानकारी दिए ।

एनआरएनए कोष्टाव्लाङ्काका अध्यक्ष सुरेश बज्राचार्यले नेपाली समुदायको लगातारको माग सुनवाई भएकोमा खुशी व्यक्त गरे । समाजका संस्थापक संरक्षक रितेश श्रेष्ठले राहदानी शिविर भ्यालेन्सीया क्षेत्रमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर बनेको बताए । समाजका निवर्तमान प्रवक्ता घनश्याम गौतमले दूतावाससँग समन्वय गरेर समाज र एनआरएनए दुवै संस्थाले सहजीकरण गर्ने बताए ।

३४ पृष्ठको विद्युतिय राहदानीका लागि नविकरणका लागि १ सय २० युरो, हराएको वा बिग्रेको बनाउदा १ सय ८० युरो शूल्क लाग्नेछ । थप जानकारीका लागि नेपाली राजदूतावासका अलावा स्थानिय केशवराज कँडेल, असिम लोप्चन र सन्तोष अर्याल सँग सम्पर्क गर्न सकिने जनाइएको छ ।

Leave a Reply