विप्लव काफ्ले —
स्पेनमा एक नेपालीको हृदयघातका कारण ज्यान गएको छ । स्पेनको आल्तेयमा बस्दै आएका नवलपुरका विजय कुँवरको विहान २ बजे निधन भएको हो । नजिकैको समुन्द्रमा पौडी खेल्ने क्रममा निधन हुन पुगेको हो । कुँवर १२ वर्षदेखि स्पेनमा बस्दै आएका थिए ।
नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काको महासचिव रहेका उनी सेफ (कुक) थिए । उनको श्रीमति र एक छोरा समेत स्पेनमै बस्छन् । इङल्याण्ड, फ्रान्समा समेत उनी सेफमा काम गरेर स्पेन आएका थिए । उनले नेपाली परिकार प्रवर्द्धन गर्न फुड सो हरुमा समेत सक्रिय हुने गर्दथे ।
२०३७ माघ ७ गते जन्मेका उनको आज असार २४ गते निधन भएको हो । एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेलले विजय कुँवर सामाजिक कार्यहरुमा अग्रसर बन्ने असल मित्र गुमाउनुपरेको बताए ।
कोष्टाव्लाङ्का क्षेत्रमा यहि असारमा भएको राहदानी घुम्ति शिविरमा विजय स्वयमसेवी बनेर खटिएका थिए ।
नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का का अध्यक्ष केसर बहादुर थापाले नेपालीहरुलाई सहयोग गर्न तत्पर बन्ने विजयको निधनले दुखी बनाएको बताए ।