पोर्चुगल — पोर्चुगलमा क्रियाशील विभिन्न नेपाली आदिवासी जनजाति संघ संस्थाहरूको संयुक्त आयोजनामा अगस्ट ९ का दिन ३१ औं विश्व आदिवासी दिवस एक विशेष कार्यक्रमका बीच भव्यताका साथ मनाइएको छ । “पहिचान, संस्कृति र हकअधिकारका लागि आदिवासी जनजाति” भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजित उक्त कार्यक्रममा पोर्चुगलमा रहेका नेपाली आदिवासी जनजाति समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा पोर्चुगलमा रहेका विभिन्न जातजातिका मौलिक संस्कृति झल्किने नृत्य तथा झाँकीहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमका मुख्य आकर्षणहरूमा नेवाः खःल, पोर्चुगलले प्रस्तुत गरेको प्रसिद्ध लाखे नाच, तमु समाजका कलाकारहरूको मौलिक प्रस्तुति, किराँत राई सोसाइटी अफ पोर्तुगलको जीवन्त साकेला सिली, शेर्पा किदुग पोर्चुगलको हिमाली संस्कृति बोकेको स्याब्रु नाच र नेपाल मगर संघ, पोर्चुगल शाखाको लोकप्रिय कौराहा नाच रहेका थिए । यी प्रस्तुतिहरूले कार्यक्रममा उपस्थित सबैलाई नेपाली संस्कृतिको विविधता र मौलिकताको अनुभव गराएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा पोर्चुगलमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अतिथिहरूले शुभकामना मन्तव्य राख्दै आफ्नो भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षण गर्दै प्रवासमा पनि एकता कायम राख्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचान हस्तान्तरण गर्न र समुदायबीच भाइचाराको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रम समापनपछि आयोजक संस्थाले एक सूचना जारी गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
आयोजकले निमन्त्रणा स्वीकार गरी पाल्नुहुने सम्पूर्ण अतिथिगण, आफ्नो कलामार्फत कार्यक्रमलाई जीवन्त बनाउने सबै कलाकार, उत्साहजनक सहभागिता जनाउने सम्पूर्ण समुदाय तथा शुभेच्छुकहरूप्रति कृतज्ञता प्रकट गरेको हो ।
त्यसैगरी, कार्यक्रम सम्पन्न गर्न अहोरात्र खट्ने कार्यसमिति पदाधिकारी र सदस्यहरू, सह-आयोजक मातृसंस्थाहरू तथा आर्थिक एवं जिन्सी सामग्री सहयोग गरी हौसला प्रदान गर्ने व्यवसायी र अग्रज व्यक्तित्वहरूको योगदानको उच्च प्रशंसा गरिएको छ ।