पेरिस, फ्रान्स — नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा, नेपाली लोक तथा दोहोरी गीत समूह, फ्रान्सको आयोजनामा आज (अगस्ट १७, आइतबार) पेरिसमा एक भव्य तीज विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिनका लागि चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार जर्मनीबाट पेरिस आइपुग्नुभएको छ ।
चर्चित गायिका परियारसँगै कार्यक्रममा लोकप्रिय लोकदोहोरी गायक रविन लामिछाने, सन्जय थापा मगर लगायत स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहनेछ । मामा ईभेन्ट्स र गुरुङ के.एन.एस ईन्टरटेन्मेन्टको आयोजनामा युरोप भ्रमणमा रहनुभएकी गायिका परियारले फ्रान्स लगायत युरोपका अन्य विभिन्न देशहरूमा समेत आफ्नो प्रस्तुति दिनुहुने आयोजकले जनाएको छ ।
कार्यक्रम फ्रान्सको राजधानी पेरिसस्थित ला कोर्न्युभ (La Courneuve) को 14 RUE GEORGES POLITZER, 93120 मा रहेको हलमा आयोजना गरिएको छ । कार्यक्रम आज दिउँसो ३ बजेदेखि सुरु भई राति १० बजेसम्म चल्नेछ ।
आयोजकका अनुसार, कार्यक्रमका लागि टिकट शुल्क खानासहित २० युरो तोकिएको छ भने १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस कार्यक्रमलाई सफल बनाउन गंगा आचार्य र राजु थापा मगरले संयोजकको भूमिका निर्वाह गर्नुभएको छ ।
विदेशमा रहेर पनि आफ्नो संस्कृति र चाडपर्वलाई जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले फ्रान्समा रहेका नेपालीहरूलाई तीजको रौनकता प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।