Home Login
रोमानिया

रोमानियामा उधौली साकेला र चासोक तङ्नामको अवसरमा बृहत च्यारिटी कन्सर्ट हुने

रोमानिया —  किरातिहरुको महान चाड उधौली साकेला तथा चासोक तङ्नामको पावन अवसरमा रोमानियामा एक बृहत सांस्कृतिक कार्यक्रम तथा च्यारिटी कन्सर्ट आयोजना हुने भएको छ । नेपाल किरात समाबेशि सेवा समाज, रोमानियाको आयोजनामा हुन लागेको उक्त कार्यक्रम आगामी मिति २०२५ डिसेम्बर १४ तारिख आइतबारका दिन सम्पन्न हुनेछ ।

आयोजक समाजका अनुसार, कार्यक्रमलाई भब्य र विशेष बनाउन नेपालका चर्चित राष्ट्रिय कलाकारहरुलाई आमन्त्रण गरिएको छ । ‘द भ्वाइस अफ नेपाल सिजन ४’ मार्फत चर्चाको शिखरमा पुग्न सफल, ‘टप ५’ फाइनलिस्ट लोकप्रिय गायक पदम राई र ‘नाच्यो झिल्के’, ‘चेप्टे चेप्टे’ जस्ता चर्चित गीतकी गायिका सुनिता थेगिमले कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् ।

यो बृहत सांस्कृतिक कार्यक्रम (सुम्निमा पारुहाङ) प्रति समर्पित रहने आयोजकले जनाएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक धर्म, संस्कृति, भाषा र संस्कारको जगेर्ना गर्ने तथा किरात चाडपर्वहरुको महत्वलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

यो कार्यक्रम केवल सांस्कृतिक मनोरञ्जनमा मात्र सीमित नभई एक ‘च्यारिटी कन्सर्ट’ को रुपमा समेत आयोजना गर्न लागिएको हो । कार्यक्रमबाट संकलित रकम सामाजिक तथा परोपकारी कार्यमा खर्च गरिने उद्देश्य राखिएको छ ।

यस अवसरमा, नेपाल किरात समाबेशि सेवा समाज रोमानियाले एक सूचना जारी गर्दै रोमानियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु तथा व्यवसायीहरुलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा (चुले निम्तो) गरेको छ ।

साथै, आयोजकले यस पवित्र र बृहत सांस्कृतिक च्यारिटी कार्यक्रमलाई सफल पार्नका लागि सबै पक्षबाट आर्थिक, भौतिक तथा नैतिक सहयोग गरिदिनुहुन र कार्यक्रमलाई भब्य र सब्य रुपमा सम्पन्न गर्न सघाइदिनुहुन हार्दिक अनुरोध गरेको छ ।

Leave a Reply