Home Login
नेपाली राजदूतावास लिस्बन

पोर्चुगलमा रहेका नेपालीहरूका लागि विद्युतीय राहदानीको आवेदन खुला

नोभेम्बरको तेस्रो हप्ताका लागि अपोइन्टमेन्ट लिन सकिने, दूतावासद्वारा आवश्यक कागजातसहित बायोमेट्रिक्सका लागि आउन सूचित

लिस्बन —  पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि अनलाइन आवेदन खुला गर्ने भएको छ । दूतावासले आज, ०७ नोभेम्बर २०२५, शुक्रबार साँझ ५ बजेदेखि आगामी नोभेम्बर महिनाको तेस्रो सप्ताहका लागि आवेदन खुला गरेको हो ।

यो सूचना विशेष गरी राहदानीको म्याद सकिन ६ महिना मात्र बाँकी रहेका वा म्याद सकिएका आवेदकहरूका लागि लक्षित छ । दूतावासले एक सूचना जारी गर्दै तोकिएको समयमा अनलाइन फाराम भर्न आग्रह गरेको हो ।

आवेदन प्रक्रिया र आवश्यक कागजातहरू

दूतावासका अनुसार, राहदानी नवीकरण गर्न चाहने आवेदकहरूले सबैभन्दा पहिले नेपाल सरकारको राहदानी विभागको आधिकारिक वेबसाइट https://emrtds.nepalpassport.gov.np/ मा गई अनलाइन फाराम भर्नुपर्नेछ ।

फाराम भर्ने क्रममा आवेदकले आफ्नो ‘अपोइन्टमेन्ट’ को मिति र समय छनोट गर्नुपर्नेछ । सोही निर्धारित मिति र समयमा आवेदकहरू ‘बायोमेट्रिक्स’ (फोटो खिच्ने र औंठाछाप दिने) का लागि दूतावासको कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ ।

बायोमेट्रिक्सका लागि आउँदा आवेदकहरूले अनिवार्य रुपमा निम्न कागजातहरू साथमा ल्याउनुपर्नेछ :

– भरिएको अनलाइन राहदानी फारामको प्रिन्ट-आउट
– सक्कल नेपाली राहदानी (पुरानो)
– नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि)

नावालकका लागि थप कागजात

नावालक (१८ वर्ष मुनिका) हरूको हकमा भने थप कागजातहरू अनिवार्य गरिएको छ । उनीहरूको आवेदनका लागि निम्न कागजातहरू पेश गर्नुपर्ने सूचनामा उल्लेख छ :

– नावालक परिचय पत्र
– जन्मदर्ता प्रमाणपत्र
– बुबा तथा आमाको नागरिकता प्रमाणपत्र
– बुबा तथा आमाको राहदानी
– विवाह दर्ता प्रमाणपत्र

दूतावासको विशेष अनुरोध र अन्य जानकारी

राहदानी आवेदनका लागि ‘अनलाइन अपोइन्टमेन्ट’ हरु सीमित संख्यामा र निश्चित समयमा मात्र खुला गरिने हुँदा दूतावासले आवेदकहरूलाई धैर्यधारण गर्न अनुरोध गरेको छ । यदि कसैले तत्काल आवेदन बुक गर्न नसके, उनीहरूले अर्को पटकको लागि प्रतिक्षा गर्नुपर्नेछ । राहदानी आवेदन सम्बन्धी थप जानकारी दूतावासको आधिकारिक पेज (https://pt.nepalembassy.gov.np/pages/passport-service-4/) मा गएर पनि हेर्न सकिनेछ ।

राजदूतावासको सेवा समय र सम्पर्क

राजदूतावासले आफ्नो सेवा प्रवाह सम्बन्धी अन्य जानकारी पनि गराएको छ । कन्सुलर सेवाहरू कार्यालय खुलेको दिन बिहान ९:१५ देखि दिउँसो १:१५ सम्म उपलब्ध हुनेछन् ।

त्यसैगरी, बनेर आएका राहदानी वितरण गर्ने तथा राहदानी सम्बन्धी अन्य जानकारी लिने समय भने दिउँसो २ बजे पछि मात्र तोकिएको छ । सेवाग्राहीहरूले कुनै जिज्ञासा वा काम परेमा दूतावासको ईमेल (eonlisbon@gmail.com) वा टेलिफोन (213011308) मा सम्पर्क गर्न सक्नेछन् । दूतावासको ठेगाना Rua Pero de Alenquer 29, 1400-293, Lisboa रहेको छ ।

Leave a Reply