Home Login
रोमानिया

रोमानिया पुगेका सर्लाहीका २५ वर्षीय सलिनको सडक दुर्घटनामा ज्यान गुमाए

रोमानिया — वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक रोमानिया पुगेका एक नेपाली युवाको सडक दुर्घटनामा परी दुःखद निधन भएको छ । गत शुक्रबार राति रोमानियाको राजधानी बुकारेस्टमा भएको सवारी दुर्घटनामा सर्लाहीका २५ वर्षीय सलिन आले मगरको घटनास्थलमै मृत्यु भएको हो ।

राजधानी बुकारेस्टको सेक्टर–६ स्थित कालेया जिउलेस्टी क्षेत्रमा शुक्रबार राति यो दुर्घटना भएको हो । प्राप्त जानकारी अनुसार, बाटो काट्ने क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको एक कारले सलिनलाई ठक्कर दिएको थियो । ठक्कर यति शक्तिशाली थियो कि उद्धारको प्रयास गर्न नपाउँदै उनको घटनास्थलमै निधन भएको स्थानीय स्रोत र प्रहरीले पुष्टि गरेका छन् । यो अप्रत्याशित घटनाले त्यहाँको नेपाली समुदायलाई गहिरो चोट पुर्‍याएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थायी घर भएका सलिन करिब ९ देखि १० महिना अघि मात्र उज्ज्वल भविष्यको सपना बोकेर रोमानिया पुगेका थिए । उनी बुकारेस्टस्थित ‘मेगा पान फास्टफुड’ मा कार्यरत थिए । छोटो समयमै परदेशमा रहेका साथीभाइमाझ परिचित सलिनको यसरी अचानक ज्यान जानुले सबैलाई स्तब्ध बनाएको छ ।

दुर्घटनापछि आवश्यक कानुनी र प्रक्रियागत कामहरू भइरहेको छ । स्रोतका अनुसार, मृतक सलिनको शव आगामी शुक्रबार (नेपाल पठाउने गरी) तयारी भइरहेको छ ।

कलिलो उमेरमै छोरा गुमाउनु पर्दा नेपालमा रहेको सलिनको परिवार गहिरो शोकमा डुबेको छ । घरको आशा र भरोसाका रूपमा परदेश गएका छोराको मृत्युको खबरले परिवारजन विक्षिप्त बनेका छन् ।

रोमानियामा रहेका नेपाली समुदायले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । काम र भविष्यको खोजीमा आएका एक होनहार युवाको निधनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मर्माहत बनाएको छ । विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन् ।

Leave a Reply