Home Login
नर्वे

मगर संघ नर्वेले जनवरी ११ तारिख सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

नर्वे — मगर संघ नर्वेले आफ्नो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित मगर भाषा तथा सांस्कृतिक कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ । संघले “हाम्रो भाषा, कला, संस्कृति र परम्पराको संरक्षणमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रम २०२६ जनवरी ११ तारिख, आइतबार दिउँसो ठीक २ बजेदेखि ओस्लोस्थित Vogts gate 64, 0477, Oslo, नर्वेमा हुने संघले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा मगर समुदायका स्थापित तथा लोकप्रिय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा तुलसा घर्ती मगर र श्याम राना विशेष प्रस्तुतिकर्ताका रूपमा रहने छन् । साथै केश पुन मगर, अंकिता मगर, रोशन थापा, मदन बेलबासे, भगवान घर्ती, अरुणा पुन, विष्णु क्षेत्री, पूर्ण आचार्य, सुमन पुन, तेज घर्ती मगर, इमान मगर लगायत कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ ।

मगर संघ नर्वेका अनुसार कार्यक्रममा नर्वेमा बसोबास गर्ने विभिन्न समुदायका सांस्कृतिक पहिचान झल्कने प्रस्तुतिहरू समेत समावेश गरिनेछ । साथै नर्वेमा रहेका राष्ट्रिय नेपाली कलाकारहरूको लाइभ प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहनेछ ।

कार्यक्रमको आयोजना मगर संघ नर्वेले गरेको हो । संघले नर्वेमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी-बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई नेपाली मौलिक संस्कृति र पहिचानको संरक्षणमा साथ दिन आग्रह गरेको छ ।

Leave a Reply