पोर्चुगल — सेगा पार्टीले आप्रवासीहरूको पारिवारिक पुनर्मिलन रोक्न माग गरेको छ । पोर्चुगलमा आप्रवासीहरूको पारिवारिक पुनर्मिलन (फ्यामिली रिउनिफिकेसन) अस्थायी रूपमा रोक्न सेगा पार्टीले सरकारलाई अनुरोध गरेको हो । पार्टीका सभापति आन्द्रे भेन्टुराले यो कदम आप्रवासीहरूको संख्या नियन्त्रण गर्न आवश्यक भएको बताएका छन् ।
‘हामीसँग पहिले नै धेरै आप्रवासीहरू छन्, यदि परिवार पनि आउँछन् भने यो संख्या १५ लाखबाट २० लाख पुग्न सक्छ । यो असहनीय छ’, पार्टीका सभापति आन्द्रे भेन्टुराले भने ।
सरकारले पनि पारिवारिक पुनर्मिलनलाई देशले समेट्न सक्ने क्षमता अनुसार सीमित गर्ने बताएको छ । पोर्चुगलमा हाल १ लाख ७० हजारभन्दा बढी आप्रवासीहरूको निवास अनुरोध बक्यौत छन् ।
सेगा पार्टीले पोर्चुगलमा आप्रवासनको सम्बन्धमा कडा अडान सुरुदेखि नै राख्दै आइरहेको हो । सेगा पार्टीको मुख्य एजेन्डामा निम्न कुराहरू समावेश छन् :
अवैध आप्रवासनमा कडाई : उनीहरू अवैध रूपमा पोर्चुगल प्रवेश गर्ने र बस्ने मानिसहरूलाई निष्कासन गर्ने पक्षमा छन्।
आप्रवासन कोटा निर्धारण : पोर्चुगलले कति आप्रवासीहरूलाई स्वीकार गर्ने भनेर कोटा प्रणाली लागू गर्नुपर्छ भन्ने उनीहरूको भनाइ छ।
सामाजिक सुरक्षा प्रणालीको दुरुपयोग नियन्त्रण : आप्रवासीहरूले पोर्चुगलको सामाजिक सुरक्षा प्रणालीको दुरुपयोग गरिरहेको उनीहरूको आरोप छ र यसलाई रोक्न कडा नियमहरू बनाउनुपर्ने माग गर्छन्।
पारिवारिक पुनर्मिलनमा प्रतिबन्ध : सेगाले पारिवारिक पुनर्मिलनलाई सीमित गर्नुपर्ने र यसलाई दुरुपयोग हुनबाट रोक्नुपर्ने तर्क गर्छ। उनीहरू ‘चेन माइग्रेसन’ (जहाँ एक जना आएपछि परिवारका धेरै सदस्यहरूलाई ल्याइन्छ) को विरुद्धमा छन्।
सेगा पार्टीले आप्रवासनलाई समग्रमा घटाउन र पोर्चुगलको हितलाई प्राथमिकता दिन चाहन्छ । पारिवारिक पुनर्मिलनमा पूर्ण प्रतिबन्ध लगाउने भन्दा पनि, उनीहरू यसका लागि कडा नियम र शर्तहरू लागू गर्ने पक्षमा छन् ताकि यसलाई दुरुपयोग गर्न नसकियोस् भन्ने उनीहरूको तर्क छ ।